१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

चिनियाँ दम्पतीले अब तीन सन्तान जन्माउन पाउने

१७ जेठ, काठमाडौँ । चीन सरकारले दम्पतीलाई तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने नीति ल्याउने भएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार सोमबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको बैठकमा यो निर्णय  सुनाइएको हो।सरकारले तीन जना बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने भएको छ।

यसै वर्षको सुरुवातमा सार्वजनिक भएको जनगणनाअनुसार चीनमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको थियो । जुन १९६० को दशकयताकै कम भएको बताइएको छ । चीनको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ । चीनले सन् २०१६ मा आफ्नो दशकौं पुरानो नीतिमा परिवर्तन ल्याउँदै एक सन्तान मात्रै जन्माउने पाउने ब्यवस्था बदलेर दुई सन्तान जन्माउन पाउने अनुमति दिएको थियो । तर सन् २०१६ मा उक्त नीति ल्याइएपनि जनसंख्या बृद्धिदर घट्दै गएको देखिन्छ ।

सन् १९७८ देखि २०२० सम्म चीनमा प्रति हजार जन्मदर मात्र सातदेखि आठको बीचमा रहेको छ । चीनले जनसंख्या बृद्धि दरलाई नियन्त्रण गर्न सन् १९७९ मा पहिलो पटक एक सन्तान नीति अपनाएको थियो । उक्त नीतिको बिरुद्ध दुई वा बढी सन्तान जन्माउने दम्पत्तीलाई जरिवाना तिर्नुपर्ने, रोजगारी गुमाउनुपर्ने वा गर्भपतन गराउनुपर्ने ब्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : May 31, 2021 at 5:33 pm