जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखियोः सभापति देउवा
१५ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै सभापति देउवाले भन्नुभएको छ ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।’
सभापति देउवाको सन्देश यस्तो छ
गणतन्त्र दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर शहिदप्रति उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो । नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्दछ र बन्नु पर्दछ । देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।
कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ भने जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको छ । यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि म सबैलाई आग्रह गर्दछु ।
अन्त्यमा, गणतन्त्र दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।
प्रकाशित मिति : 08:33









