२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

गोकर्ण विष्टले पनि छाडे माधव नेपालको साथ, कांग्रेसका लागि हस्ताक्षर दिन अस्वीकार

१० जेठ, काठमाडाैँ । एमालेमाथि गद्दारी गरेको अभियोग लागेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नजिकका प्रभावशाली नेताको साथ गुमाउनेक्रम जारी रहेको छ । यहीक्रममा उहाँले सोमबारबाट प्रभावशाली लोकप्रिय युवा नेता गोकर्ण विष्टको पनि साथ गुमाउनुभएको छ । माधव नेपालसहितका २३ नेताले कांग्रेसका लागि हस्ताक्षर बुझाउँदा उहाँसहित गणेश पहाडी र पवित्रा निराैला खरेलले पनि अस्वीकार गर्नुभएको छ ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीकोमा सरकारका लागि दाबी गर्न माधवकुमार नेपालले आफैँ प्रधानमन्त्री बन्नका लागि हस्ताक्षर मागेको तर दुरूपयोग गरेर देउवाका नाममा प्रयो भएपछि उहाँ असन्तुष्ट बन्नुभएको थियो । उहाँले माधव नेपालका लागि हस्ताक्षर दिन तयार भए पनि देउवाका लागि दिन तयार हुनुहुन्थेन। उहाँ पछिल्लो समय एमालेको कार्यदलको बैठक बाहेकका छलफलमा सहभागी हुनुभएको छैन ।

योसँगै विघटित प्रतिनिधिसभामा माधव नेपाल पक्षमा भनिएका सांसद अब समानुपातिक सहित जम्मा २३ जनामा सीमित भएको छ । १२१ सांसद भएको एमालेमा तीन वर्षदेखि रोइकराइ गरेर गुटबन्दी गर्दा पनि माधवकुमार नेपालले २३ जना भन्दा बढीलाइ संगठित गराउन नसकेको देखिएको छ ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग्दै एमालेका २३ पूर्व सांसदसहितले हस्ताक्षर गरेर रिट तयार गरेका छन । रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९,जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना पूर्व सांसदको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : 14:03