२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधव नेपाल एकै महिनामा दुई पटक नेकपा (एमाले)लाई पराजित गराउन सफल, अब के गर्लान ?

६ जेठ, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रियसभाको उपनिर्वाचनमा आफ्नै पार्टीलाई हराउन सफल हुनुभएको छ । उहाँले पहिलो पटक सार्वजनिक रूपमै अपिल गरेर नेपाली कांग्रेस र नेकपा माअ‍ोवादी केन्द्रको साथमा एमाले पराजित गर्न सफल हुनुभयो ।

बागमती प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा नेपालले एमालेको सूर्य ध्वजाबाहक उम्मेदवार हराउनका लागि कांग्रेस र माओवादीको संयुक्त गठबन्धनका उम्मेदवारको पक्षमा खुलेआम मत माग्नुभएको थियो भने आफू निकटका अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डेलाई मैदानमा उतार्नुभएको थियो ।

योसँगै उहाँको एमाले हराउने दोस्रो अभियान पनि सफल भएको छ । यसअघि उहाँले संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समयमा २७ सांसद अनुपस्थित गराएर एमालेको सरकार ढाल्नुभएको थियो । अध्यक्ष ओलीसँग एकता गर्ने बहानामा कार्यदल बनाएर छलफल गरेजस्तो गरिरहनुभएका उहाँले सूर्य ध्वाजाबाहक उम्मेदवार हराउन भने न्वारनदेखिकै बल लगाउनुभयो र कांग्रेस र माओवादीको संयुक्त गठबन्धनका स्वतन्त्र उम्मेदवार जिताउनुभयो ।

बिहीबार भएको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवार डा खिमलाल देवकोटा विजयी हुनुभएको छ । उहाँले ५०८८ मतभार पाउनुभएको छ । निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका रामबहादुर थापा बादलले ४०१४ मतभार पाउनुभएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।

यसरी दोस्रो पटक एमाले पराजित गराउन सफल माधवकुमार नेपालले के गर्नुहोला अब चासो पूर्वक हेरिएको छ ।

प्रकाशित मिति : 17:41