२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

सरकारले विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउछः शिक्षामन्त्री श्रेष्ठ

४ जेठ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले विश्वासको मत लिएर मात्रै नीति, कार्यक्रम ल्याउने बताउनुभएको छ । मंगलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले कोभिड – १९ सँग सम्बन्धित कार्ययोजना र सञ्चालन भइरहेका गतिविधिको स्थलगत निरिक्षण गर्ने क्रममा संक्षिप्त मन्तव्य राख्दै सरकारलाई विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउनुपर्ने दबाब भएको भन्दै सरकारले विश्वासको मत लिएर मात्रै नीति कार्यक्रम ल्याउने सोच बनाएको बताउनुभएको हो ।

वर्तमान सरकार आटिलो भएको पनि उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘परिस्थिति अलिकति असहज र तनावपूर्ण स्थिति छ । एक खालको तनावलाई त ल्यान्डिङ ग¥यौँ । अब अहिलेपनि एकखालको नीति र कार्यक्रम भन्दा पहिले विश्वास लेउ भन्नेकुरा आएको छ । हामी पनि यो सरकारले विश्वास लिएर मात्रै नीति, कार्यक्रममा जाने सोच बनाइरहेका छौँ । सरकार आटिलै छ । सरकारले आँट गर्छ ।’

मन्त्री श्रेष्ठले ठुला अस्पतालहरुमा अक्सिजन प्लान्ट नहुनु बिडम्बना भएको बताउनुभयो । बिगतमा अस्पतालहरुको क्षमता अनुसार अक्सिजन प्लान्टबिना अस्पताल सञ्चालनको स्वीकृति नदिएको भए यस्तो अवस्था नआउने भन्दै उहाँले अस्पतालहरुलाई अक्सिजन प्लान्ट बनाउन निर्देशन दिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘ठुला–ठुला अस्पतालमा अक्सिजन प्लान्ट नहुनु यो भन्दा ठुलो बिडम्बना के हुन्छ ? अहिले आएर भनिरहेका छौँ, हरेक हस्पिटलमा अक्सिजन प्लान्ट बनाईयोस् । हिजै हस्पिटलहरुको अनुमति दिदाँखेरी हस्पिटलको क्यापिसिटी अनुसार अक्सिजन प्लान्ट छ, छैन अक्सिजन प्लान्टबिना हस्पिटललाई स्वीकृति नदिनेस्थिति भएको थियो भने प्रत्येक हस्पिटलमा अक्सिजन प्लान्ट हुन्थ्यो । अहिले हामिले भन्न थाल्यौँ यति दिन भित्र हस्पिटलमा अक्सिजन प्लान्ट बनाउनुपर्ने खालको निर्देशन गरिरहेको स्थिति छ ।’

मन्त्री श्रेष्ठले नास्टले निर्माण गरेको अक्सिजनलाई टेष्ट गर्ने उपकरणको अनुगमन समेत गर्नुभयो । उहाँले महामारीको बेलामा नागरिकको जीवन रक्षाका लागि विज्ञान र प्रविधिको क्षेत्रबाट अनुसन्धान र अन्वेषण गर्न आग्रह पनि गर्नुभयो । यो बेलामा धेरै नियम र कानुन नहेरी जनतालाई जोगाउने र बचाउने सरकारको प्रमुख नीति भएकाले नाष्टलाई अनुसन्धानका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : May 18, 2021 at 5:18 pm