नेकपा (एमाले) कार्यदलको पहिलो बैठक सकियो, यस्ता छन निर्णय
४ जेठ, काठमाडौँ । नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा कार्यदलका सदस्य विष्णु पाैडेल र शंकर पोखरेल बाहेकका सबै सदस्य उपस्थित रहनुभएको बैठकपछि डा भीमबहादुर रावलले जानकारी दिनुभयो ।
उहाँले एमाले कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन अपिल गर्ने निर्णय गरेको छ । साथै बैठकले सहमतिहरू निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने पनि निर्णय गरेको छ । बैठकले देशैभर कार्यकर्ताको बीचमा एकताको भावना सञ्चार गराउने निर्णय समेत गरेको नेता रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरिएको छ । कार्यदलले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचासंहिता तुरुन्त लागु गर्ने र पार्टीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।’
२ जेठमा बनेको कार्यदलको पहिलो बैठक हिजै बस्नुपर्नेमा डा भीमबहादुर रावलको आँखामा समस्या आएका कारण बस्न सकेको थिएन । कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।

प्रकाशित मिति : 16:58









