राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई मत दिन एमालेको ह्वीप (पत्रसहित)
३ जेठ, काठमाडाैँ । सत्तारूढ दल नेकपा (एमाले)ले राष्ट्रियसभा उपनिर्वाचनमा अाफ्ना उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन ह्वीप जारी गरेको छ । उपप्रधानमन्त्री समेत रहनुभएका एमाले महासचिव इश्वर पोखरेलले मतदातालाई सूर्य चिन्हमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।
यही जेठ ६ गते बागमती प्रदेशमा रामबहादुर थापा बादलकोको ठाउँमा खाली भएको पदमा उपनिर्वाचन हुँदैछ । माओवादीले कारबाही गरेर हटाएको बादललाई एमालेले उम्मेदवार बनाएको छ । एमालेभित्र केही दिन यता पार्टी एकताको सन्देश प्रवाह भएको छ । यद्यपी माधव नेपाल समूहका नाममा कसैले बदमासी गर्न सक्ने भयले एमालेले ह्वीप लगाएको हो ।
महासचिवको नाममा लेखिएको ह्वीप पत्र प्रदेशसभाका सदस्य, महागरपालिकाका प्रमुख र उपप्रमुख, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई पत्राचार गरी सूर्य चिन्हमा मतदान गर्न निर्देशन दिइएको छ ।
ह्वीप पत्राचारमा लेखिएको छ ‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क। रामबहादुर थापामगर भएको जानकारी गराईन्छ । पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९।०० बजे देखि १५।०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’
नेपाली कांग्रेस र माओवादीले खिमलाल देवकोटालाइ उम्मेदवार मानेका छन । यद्यपी उनीहरूले आफ्नो चिन्ह रूख र हँसिया हथौँडामा भोट हाल्ने पाउनेगरी उम्मेदवार उठाउन सकेनन् । बागमतीमा विपक्षी दलहरूको महागठबन्धन बनेपनि एमालेका उम्मेदवारले दुई तिहाइ मतले चुनाव जित्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : 20:41









