२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एकताबद्ध कम्युनिष्ट आन्दोलनबाट मात्र मदनआश्रितको सपना पूरा हुन्छः मुख्यमन्त्री पाैडेल

३ जेठ, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पाैडेलले एकताबद्ध कम्युनिष्ट आन्दोलनबाट मात्र मदनआश्रितको सपना पूरा हुने बताउनुभएको छ । मदनआश्रित स्मृति दिवसको अवसरमा दिनुभएको सन्देशमा मुख्यमन्त्री पाैडेलले भन्नुभएको छ ‘गुटफुट होईन, एकताबद्ध, बलियो र भरोसा योग्य कम्युनिष्ट आन्दोलनबाट मात्र जननेता भण्डारी र कुशल संगठन आश्रितले देख्नुभएको सपना पुरा गर्न सकिन्छ ।’

नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २८ औं स्मृति दिवसको सन्दर्भमा देश र जनताको हितको लागि उहाँहरुले पुर्याउनुभएको अमुल्य योगदानको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछु ।

वि. सं २०५० साल जेठ ३ गते पोखराबाट फर्कनेक्रममा चितवनको दासढुङगामा रहस्यमय जीप दुर्घटनाबाट उहाँहरुको मृत्यु भएको थियो । विश्व कम्युनिष्ट आन्दोलनले एकपछि अर्को धक्का बेहोर्नुपरेको तत्कालिन समयमा जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादको आलोकमा नेपाली कम्युनिष्ट आन्दोलन जनताको मन र विश्वास जितेर उचाईको पुग्दै थियो ।

कम्युनिष्ट आन्दोलनलाई शास्त्रको जडताबाट मुक्त गरी जीवन र ब्यवहार संगै जोड्दै जबज मार्फत नेपाली क्रान्तिको मौलिक मोडल प्रस्तुत गर्नुभएका जननेता भण्डारीलाई अमेरिकाबाट प्रकाशित “न्युज विक” पत्रिकाले नेपालको कार्ल माक्र्सकोरुपमा चित्रित गरेको थियो ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिककरण गर्ने मात्र होईन, जनताका जीवन्त सवालहरुमा उहाँले प्रस्तुत गर्नु भएको दृष्टिकोणहरु आज पनि उत्तिकै सान्दर्भिक छ । कम्युनिष्ट आन्दोलनभित्र भिन्नै खाले प्रयोगहरुमा विश्वास गर्ने राजनीतिक पार्टिहरुले समेत जनताको बहुदलिय जनवादको अन्तर्यलाई आत्मसात गर्दै अघि बढेको देखिन्छ । यसले जबजको सच्चाई र सान्दर्भिकतालाई पुष्टि गर्छ ।

जनताको प्रिय नेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको रहस्यमय जीप दुर्घटनाबाट नेपाली कम्युनिष्ट आन्दोलनले अपुरणीय क्षति ब्यवहोर्नुपरेको थियो । आज जननेता भण्डारी त हामी माझ हुनुहुन्न तर उहाँबाट प्रतिपादित जबजले हामी सबैलाई मार्गदर्शन गरिरहेको छ ।

कुशल संगठक आश्रित त हामीसंग हुनुहुन्न तर जनतामा आधारित बलियो संगठानिक आधार, जनताको भरोसा र प्रतिबद्ध कार्यकर्ताहरु भएको पार्टि नेकपा एमाले जीवन्त छ । यसर्थ जबजको आलोकमा समृद्धि नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न पार्टिको सम्पुर्ण शक्ति केन्द्रीकृत गर्न सक्दा आउने सकारात्मक परिणामले नेपाली कम्युनिष्ट आन्दोलनलाई थप बलियो र भरोसायोग्य बनाउनेछ ।

गुटफुट होईन, एकताबद्ध, बलियो र भरोसा योग्य कम्युनिष्ट आन्दोलनबाट मात्र जननेता भण्डारी र कुशल संगठन आश्रितले देख्नुभएको सपना पुरा गर्न सकिन्छ । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २८ औं स्मृति दिवसको सन्दर्भमा उहाँहरुले देखाउनुभएको बाटोमा अविराम लागिरहने प्रतिबद्धता सहित पुनः हार्दिक श्रदाञ्जली ब्यक्त गर्दछु ।

प्रकाशित मिति : 10:02