२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधव नेपाललाई अर्को क्षति, सुनसरीबाट प्रत्यक्ष निर्वाचित राई एमाले विभाजनमा नलाग्ने

२९ वैशाख, काठमाडौँ । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालले थप क्षति व्यहोर्नुभएको छ । एमाले छाडेर नयाँ दल बनाउने वा नेकपा माओवादी केन्द्रमा समूहगत प्रवेश गर्ने भन्ने विकल्पमा निर्णायक छलफल चलिरहेको समयमा संसद बहिष्कारमा समेत सहभागी एक जना प्रत्यक्ष निर्वाचित सांसदले साथ छाडेका छन ।

सुनसरी १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका जयकुमार राईले आफू पार्टी विभाजन हुने काममा सहभागी नहुने स्पष्ट पार्नुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि फेरि तपाईहरूले राजिनामा दिनेगरी माधव नेपालले कांग्रेससँग समझादारी गर्नुभएको रहेछ नि भन्ने दैनिकीको प्रश्नमा उहाँले भन्नुभयो ‘कसले कहाँ के समझदारी गर्यो मलाई थाहा छैन् । तर म एमाले छाडेर कहीँ पनि जान्न । म एमाले विभाजको कुरा कल्पना पनि गर्न सक्दिन ।’

भीम आचार्यको मियो ढल्यो

राईले एमाले विभाजनका लागि माधव नेपाल समूहलाई साथ नदिने घोषाणा गरिएकपछि प्रदेश नम्बर १ मा माधव नेपाल समूहको नेतृत्व गर्ने प्रदेशसभा सदस्य भीम आचार्यको मियो ढलेको रूपमा बुझिएको छ । राई निर्वाचित भएकै प्रतिनिधिसभा अन्तर्गतको प्रदेशसभा ख बाट आचार्य प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । राई र आचार्य दुबैले एकै मतदाताको मत पाउनुभएको हो ।

पूर्व पर्यटनमन्त्री समेत रहनुभएका आचार्य माधव नेपाल समूहको कोटामा मुख्यमन्त्री पाउने लोभमा प्रदेशसभा जानुभएको थियो । यद्यपी प्रदेशसभामा निर्वाचित भएका सांसदहरूको बीचमा मतदान हुँदा उहाँ संसदीय दलको नेतामा पराजित हुनुभएको थियो । उक्त निर्वाचन क्षेत्रमा आचार्य अब केही दर्जन कार्यकर्तामा मात्र सीमित हुन पुग्नुभएको छ । सुनसरी १ को पार्टी संगठनमा राईको बलियो पकड रहेको छ ।

प्रकाशित मिति : 16:19