कोरोनासंग पोजेटिभ भएका सांसद पनि संसदको विशेष अधिवेशनमा सहभागी हुन पाउने
२६ वैशाख, काठमाडाैँ । संघीय संसद सचिवालयले भोली सोमबारका लागि बोलाईएको प्रतिनिसभाको विशेष अधिवेशनमा कोभिड १९ संक्रमित सांसदहरुलाई पनि सहभागी हुने व्यवस्था मिलाउने भएको छ । संघीय संसद भवन नयाँवानेश्वरमा आईतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सुरक्षाका सम्पुर्ण मापदण्ड प्रयोग गरि संक्रमित सांसदहरुलाई पनि सहभागी गराउने निर्णय गरेको हो ।
भोलीको अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले मतदान गर्ने सांसदहरुको अधिकारको सुनिश्चितता गदै संक्रमित सांसदहरुको लागि छुट्टै बस्ने कक्षको व्यवस्था गरि मतदानमा सहभागी गराउन लागिएको नेकपा एमालेमा प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिनुभयो ।
कोभिड १९ संक्रमणको जोखिमका बीच सोमबारको अधिवेशन सञ्चालन तथा पोजिटिभ देखिएका सांसदहरुलाई सुरक्षा सर्तकताका साथ मतदानको व्यवस्था गर्ने निर्णय बैठकले गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “अहिलेसम्म २८ जना सांसदहरु संक्रमित भएकोे देखिन्छ ।
यस्तो अवस्थामा संक्रमितहरुलाई भोलीको विश्वासको मतको निर्वाचनस्थलसम्म ल्याईपुराउने र सुरक्षित तरीकाले मतदानमा सहभागी गराउने कुरा असाध्यै चुनौतिपुर्ण छ । आज हामीले त्यही विषयमा छलफल गर्यौ र सांसदहरुलाई सुरक्षित तरिकाले एम्बुलेन्समा स्वास्थ्यको मापदण्ड प्रयोग गरेरै ल्याएर मतदानमा सहभागी गराउने निर्णय भयो ।”
नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ्गले कोभिड संक्रमित सांसदहरु कोही अस्पताल त कोही उपत्यका बाहिर रहेकाले मतदानको अधिकारबाट कोही नछुटुन् भन्ने ढंगले व्यवस्था मिलाउने बारेमा छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “कोही पोजिटिभ देखिएका कतिपय अस्पतालमा हुनुहुन्छ । कतिपय भ्याली बाहिर हुनुहुन्छ । उहाँहरुलाई ल्याउन सक्ने कुरा हुदैन । के गर्ने ? मतदानको अधिकारबाट नछुटुन् भन्ने तहसम्मको अधिकतम तयारी गर्नुपर्छ भन्ने कुरा भएको छ । मतदानको अधिकारबाट नछुटुन् भन्ने ढंगले तयारी गर्ने भन्ने कुरा भएको छ । ”
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञ, चिकित्सक र स्वास्थ्यकर्मीहरुसंग परामर्श गरेर संक्रमित सांसदहरुलाई मतदान गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म पिसिआर नगरेका सांसदहरुलाई पिसिआरका लागि आग्रह गर्ने र रिपोर्टका आधारमा सुरक्षित रुपमा मतदान गराउने तय भएको बताउनुभयो ।
प्रकाशित मिति : 21:47









