गोविन्द केसीको नाममा कांग्रेसले अबराेध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित
२० असार, काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ । विशेष समयमा बोल्ने क्रममा काँग्रेसकातर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
बैठकमा काँग्रेस सांसद पाण्डेले बोल्दै अनशनरत चिकित्सक डा गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै उहाँको अवस्थाका बारेमा जानकारी गराउन माग गर्नुभयो । त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो ।
राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको सम्बन्धमा सदनलाई जानकारी गराउन उहाँले सरकारसँग माग गर्नुभयो । त्यस्तै अनशनरत गंगामाया अधिकारीको अनशनप्रति सरकारले बेवास्ता गरेको तथा विभिन्न समयमा सांसदहरुले उठाएका समसामयिक विषयमा समेत सरकारले जवाफ नदिएको भन्दै सो विषयमा सरकारको तर्फबाट स्पष्ट जवाफ नआएसम्म सदनको काम कारबाही अगाडि बढाउन नदिने घोषणा गर्दै विरोध जनाउनुभएको थियो । त्यसकोलगत्तै काँग्रेसका सबै सदस्यले आ–आफ्नो स्थानमा उठेर विरोध जनाउनुभएको थियो ।
प्रकाशित मिति : २० असार २०७५, बुधबार १४:५७