कम्फर्टेबल सरकार बन्ने संकेत प्रचण्डले पाएनन्, भन्छनः नयाँ सरकार बन्ने छाँटै देखिएन
१६ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानबाट हार खानुभएको छ । बिहीबार हिलालय टेलिभिजनबाट प्रशारण हुने यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्ने छाँट समेत नदेखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘ओली सरकार कहिले ढल्छ भनेर अब मलाई भन्न नलगाउनुस्, यसो छाँट हेर्दा अहिले नयाँ सरकार बन्ला जस्तो छैन ।’ अध्यक्ष प्रचण्डले एमाले फुटाएर आफूलाइ पार्टी एकता गर्नुपर्ने अवस्था नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकार फेर्ने कुरा अब मलाई नसोध्नुस्। जसपाले निर्णय गर्दै गर्दैन, उसले निर्णय नगरेसम्म कांग्रेस तयार हुँदैन। हामीले त समर्थन छैन भनिसक्यौँ नि तर कुरो अघि बढ्दै बढेन, यसबारे धेरै भनिसकेँ, केही भन्नु छैन, अब नसोध्नुस् ।’
उहाँले एमाले पार्टी सग्लै रहँदा नै पार्टी एकता हुने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओली भन्दा बाहेकका नेताहरूलाइ आफूले मिलाएर लान सक्ने दाबी गर्नुभयो । उहाँले माओवादीबाट चोइटिएकाहरू सबै जसो आफूसँगै गोलबुद्ध हुने दाबी समेत गर्नुभयो ।
एक फरक प्रसंङ्गमा अध्यक्ष प्रचण्डले बद्नाम ठेकेदार एवं उहाँको घरबेटी शारदा अधिकारीले पञ्चायतकालदेखि नै सहयोग गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘शारदा कमरेड हाम्रो पार्टीको सदस्य र सहयोगी पनि हो । उहाँले कामका सन्दर्भमा कमजोरी गरेको भए जनताका गुनासो सम्बोधन गर्नुपर्छ ।’
प्रकाशित मिति : 22:39









