प्रचण्डमाथि बज्रपातः कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने जसपाको निष्कर्ष
२९ चैत, काठमाडौँ । भारतका लागि कम्फर्टेबल सरकार बनाउने अभियानको घोषणा गरेर मोर्चाबन्दी गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल माथि बज्रपात परेको छ । आफैँसँग प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने संख्या समेत नभएका प्रचण्डले आफूहरूले बनाउने सरकार भारतका लागि कम्फर्टेबल हुने र त्यसका लागि तयारी गरिरहेका बताउनुभएको थियो । उहाँको अभियानमा बज्रपात हुनेगरी आइतबार भएको जसपाको बैठकले तत्कालका लागि कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निष्कर्ष निकालेको छ ।
प्रचण्डको अभियानमै साथ दिन कांग्रेसभित्रका प्रतिपक्षी रामचन्द्र पौडेलहरूले दबाब दिएपछि सभापति देउवाले कांग्रेसको बैठक बोलाएर औचारिक रूपमा नयाँ सत्ता समिकरणका लागि छलफल सुरू गर्नुभएको थियो । देउवा निवास बुढानिलकण्ठमा केही दिनअघि भएको छलफलमा जसपाले पार्टीमा औपचारिक छलफल नगरी केही निर्णय दिन नसक्ने बताएको थियो । शनिबार बसेको जसपाको पदाधिकारी बैठकले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न नसकिने निष्कर्ष निकालेको हो ।

आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको बताएका थिए । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपनि जसपाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको थियो । ‘तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव छैन, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हामीहरुका माग पूरा गर्ने प्रतिबद्धता जनाएकोले सरकारसँगै हामी छलफल अघि बढाउछौ’ जसपाका एकजना नेताले भन्नुभयो ।
जसपाले लाल आयोगको प्रतिवेदन कार्यान्वयन तथा राजनीतिक आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेको छ । जसपाका नेता लक्ष्मणलाल कर्ण आफूहरुका माग जसले पूरा गर्छ उसैसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताउनु भयो । ‘जसले काम गछ, जसले हाम्रा माग पूरा गर्छ उसैलाई हाम्रो समर्थन रहन्छ, सरकारले हाम्रा माग पूरा गर्न गृहकार्य गरिसकेको छ’ कर्णले भन्नुभयो ।
प्रकाशित मिति : 19:46









