माधव समूहले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्छः प्रमुख सचेतक भट्टराई
२३ चैत, काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताउनु भएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ अब यहि तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडी बढ्छ ।’

लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानूनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजिएको पनि बताउनुभयो । समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट विधानबाट चल्नुपर्ने पार्टी यदी गैह्रकानूनी तरिकाले, गैह्रसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यसकारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनैपनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’
प्रकाशित मिति : 19:18









