२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

कर्णाली प्रदेशः मुख्यमन्त्री शाहीको सरकार संकटमा, नेपाल पक्षका तीन मन्त्रीहरूले राजीनामा दिने

२२ चैत, सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरेको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकले पार्टीबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन् । एमालेभित्र विवाद बढेसँगै ओली पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने खनाल–माधव पक्षले प्रदेश सरकारप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय एमालेको खनाल–नेपाल पक्षले समेत पार्टीकै लाइनअनुसार चल्ने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो ।

एमालेले समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा शाही नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्दछ । एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएको छ । बैठकले गुलाबजङ्ग शाहको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । सो समितिले चैत २४ गते बस्ने संसदीय दलको बैठकमा मस्यौदा पेश गर्नेछ ।

प्रकाशित मिति : 16:32