३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्छौँः मन्त्री श्रेष्ठ

१८ चैत, ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताउनुभएको छ । नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘ ३१ औँ पाटनमुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्पूर्ण मुलुकवासीको मुहारमा खुशी र हासो देख्नका लागि हामी एकजुट भएर अघि बढ्न जरुरी छ । विसं २०४६ चैत १८ गते पाटन क्षेत्रलाई तत्कालीन शासकबाट मुक्त गर्ने क्रममा शहीद भएका चार सपुतले छाडेर गएका अधुरा सपनालाई पूरा गर्न हामी लागि पर्नेछाैँ ।” तत्कालिन समयमा ललितपुरका जनताले निरङ्कुश शासन विरुद्ध गरेको त्याग र बलिदानको आफूहरुले सदैव कदर गर्दै अघि बढ्ने उहाँको भनाइ थियो ।

नेकपा एमाले ललितपुरका जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकारले २०४६ साल चैत १८ गते पाटनका जनताले पञ्चायती शासनलाई घुँडा टेकाउन सफल भइ आजको दिनमा आइपुग्न पाएको बताउनुभयो । नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिव पुरुषोत्तम आचार्यले शहीदका कारण मुलुकमा परिवर्तन सम्भव भएकाले उहाँहरुका परिवारलाईसमेत सुखदुखमा साथ दिँदै अघि बढ्न ध्यान दिइने बताउनुभयो ।

यसैबीच मन्त्री श्रेष्ठले ललितपुर महानगरपालिका–१३ नख्खु दोबाटो गई २०३१ साल असोज १३ गते जेल सार्ने क्रममा तत्कालीन सरकारले गोली हानी हत्या गरेका चार योद्धा ठगीराज दाहाल, लीलानाथ दाहाल, खगेन्द्रराज दाहाल र गोकर्णबहादुर कार्कीको सालिकमा माल्यार्पण गर्नुभएको थियो । सो कार्यक्रममा संविधानसभा सदस्य सुशीला नेपाल, ललितपुर क्षेत्र नं १ सांसद नवराज सिलवाल, प्रदेशसभा सदस्य चेतनाथ सञ्जेललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : March 31, 2021 at 12:55 pm