फागुन २८ र त्यस पछिका निर्णय फिर्ता हुँदैन : प्रधानमन्त्री ओली
१३ चैत, काठमाडाैँ । प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको फागुन २८ गतेको निर्णय फिर्ता नहुने बताउनुभएकाे छ । शुक्रबार बसेकाे संसदीय दलको बैठकमा माधव नेपाल गुटका सांसदले निर्णय फिर्ता गर्नुपर्ने माग राखेपछि उहाँले निर्णय फिर्ता नहुने बताउनुभएकाे हाे ।
प्रधानमन्त्री ओलीले दलको बैठकलाई सम्बोधन गर्दै फागुन २८ गतेको केन्द्रीय कमिटी र चैत ५ र ७ गतेको संसदीय दलको निर्णय अहिले फिर्ता हुन नसक्ने बताउनु भयो । ‘हामीले पारित गरेको जुन विधान छ, त्यो केन्द्रीय कमिटीले अनुमोदन पनि गरिसकेको अवस्थामा, यो पार्टीको संसदीय दलको विधान हो’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘आवश्यक पर्यो भने समयअन्तरमा कालान्तरमा संशोधन गर्न सकिन्छ । अपरिवर्तनीय र असंशोधनिय छैन तर अहिले नै यो विधानमा तल माथी गर्न सकिदैन ।’

बैठकमा प्रधानमन्त्री ओलीले कुनै पनि गुटका कुरा नसुनिने र व्यक्तिगत रुपमा आएका सुझाव, आलोचनालाई भने स्विकार गरिने स्पष्ट पार्नुभएको थियो । बैठकले सांसदहरुको क्षमता अभिवृद्धिकरण गर्ने निर्णय गरेको छ । त्यसका लागि नियमित संसदीय दलको बैठक बस्ने र विभिन्न तालिमहरु दिने निर्णय भएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनुभयो ।
अब संसदीय दलको बैठक नियमित बस्ने सो बैठकमा विष्णु पौडेलले वजेटका बारेमा विचार दिन आग्रह गर्नुभयो । बैठकमा सहभागी गोकर्ण विप्ट, योगेश भट्टराई घनश्याम भुषाल लगायतका नेताले ऐतिहासिक अबसर भएकाले सोही अनुसार काम गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति : 17:47









