२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नेपाल सुपर लिगको टिकेटिङ सम्झौता

११ चैत, काठमाडाैँ । अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले टिकटीङ पार्टनरको रुपमा पेवेलसँग सम्झौता गरेको छ । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार एक कार्यक्रम गरेर पेवेलसँग सम्झौता गरेको हो । नेपाल सुपर लिगकी अध्यक्ष आश्रेयता कार्की चौधरी र पेवेलमन प्रमुख कार्यकारी अधिकृत भिम प्रसाद तिमिल्सिनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगितामा पेवेलले आधिकारिक रुपमा टिकट विक्री गर्ने छ । यद्यपि टिकट दर भने अझै सार्वजनिक भएको छैन् । आउँदा कार्यक्रममा टिकट दर सार्वजनिक गरिने आयोजकले जनाएको छ । विगतमा टिकट वितरणमा भएको कमी कमजोरीलाई अध्ययन गरेर अर्को महिना हुन लागेको प्रतियोगिताका लागि टिकट वितरण गर्न लागेको पेवेलले बताएको छ ।

फ्रेन्चाईज टोलीलाई सहभागि गराएर सञ्चालन गर्न लागिएको पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार २२:०५