२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

‘पूर्वाग्रह र द्वेषको दलदलमा भासिएका प्रचण्डमा डिप्रेशनको लक्षण’

९ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को आलोचना गर्नुभएकाे छ । प्रचण्डले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा केपी ओली २५ औं वर्षदेखि विदेशीबाट पालित पोषित व्यक्ति भएको आरोप लगाउनुभएकाे थियाे ।

त्यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सल्लाहकार थापाले ‘रिसाएको बिरालोले खाँबो चिथोर्छ’ भन्दै प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाउनुभएकाे हाे । ‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेशनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ’, सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत भन्नुभएकाे छ, ‘विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा ।

प्रेस सल्लाहकार थापाले नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन् भन्ने प्रश्न गर्दै भनेका छन्, ‘जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ? उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो ?’

उहाँले नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालित पोषित र सुरक्षित थिए भन्ने प्रश्न समेत गर्नुभएकाे छ । उहाँले अरुको आलोचना गर्नुभन्दा ऐनामा आफ्नो अनुहार हेर्न भन्दै प्रचण्ड र केपी ओलीको तुलना हुन नसक्ने बताउनुभएकाे हाे । ‘आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला ?’ उहाँले तथ्यहीन, दुराशयपूर्ण आरोप र गालीगलोज कसैले नसुन्ने, नपत्याउने र विश्वास पनि नगर्ने समेत बताउनुभएकाे छ ।

प्रकाशित मिति : 08:22