२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

एमालेको बैठक प्रधानमन्त्री निवासमा हुँदासम्म माधव नेपाल समूहले बहिष्कार गर्ने

६ चैत, काठमाडाैँ । नेकपा एमालेको विवाद चर्किरहेको अवस्थामा नेता माधवकुमार नेपाल  समूहले केन्द्रीय कमिटीको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । नेपाल समूहका स्थायी कमिटीका सदस्यहरूको भेलाले पार्टीका बैठक प्रधानमन्त्री निवासमा हुँदासम्म सहभागी नहुने निर्णय गरेको सो समूहका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । उहाँले उपलब्ध स्थायी कमिटीको बैठकले शनिबारको बैठकमा सहभागी नहुने निर्णय गरेको बताउनुभयो ।

रिजालले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने र बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्न सकिने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने निर्णय भएको छ।’

प्रकाशित मिति : 20:47