२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

५ चैत, काठमाडाैँ । नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । दशरथ रंगशालामा यही चैत १० देखी १६ गते सम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत एन्फा प्रवक्ता किरणले प्रतियोगिता दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने बताएका हुन् ।


कोरोनाको महामारीलाई ध्यानमा राखेर एन्फाले १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिने जनाएको छ । त्यसका लागि एन्फाले प्रतियोगिताको टिकट मूल्य समेत तोकेको छ । जस अनुसार एन्फाले सामान्य प्याराफिट तर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर तोकेको छ । दशरंथ रंगशालामा आयोजना हुन लागेको प्रतियोगिताका लागि एन्फाले रंगशाला तयारीलाई तिब्रता दिएको छ । यस अघि नै सार्वजनिक भएको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग १२ गते खेल्दै छ भने दोस्रो खेल १४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । यही प्रतियोगितामा सहभागिता जनाउनका लागि आजै बंगलादेशको टोली नेपाल आएको छ । बंगलादेशबाट ४० सदस्यीय टोली नेपाल आएको हो । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार १६:५४