२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

विश्व बक्सिङ च्याम्पियनसिपका लागि सुष्मा तामाङ छनोट

४ चैत, काठमाडाैँ । पोल्याण्डमा आयोजना हुने आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट सुष्मा तामाङ छनोट हुनुभएको छ । सातदोबाटोमा आज भएको महिला ४८ किलो तौल समूहको छनोट खेलमा नक्सालकी तामाङले आरडिएसकी रमिसा श्रेष्ठलाई दुईका विरुद्ध तीन अङ्कले पराजित गर्दै विश्व च्याम्पियनसियपका लागि छनोट हुनुभएको हो ।

यस्तै महिला ६० किलो तौल समूहमा बक्समाडौँकी डेचेन शेर्पा फाइनलमा प्रवेश गर्नुभएको छ । उहाँले सेमिफाइनलमा झापाकी सुस्मिता राईलाई शुन्यका विरुद्ध पाँच अङ्कले पराजित गर्नुभएको हो । उहाँले फाइनलमा बुधबार आरडिएस क्लबकी सुमिना खड्कासित प्रतिस्पर्धा गर्नु हुने बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिनुभयो । खड्का वाई पाएर फाइनलमा प्रवेश गर्नुभएको हो ।

छनोट प्रतियोगिता कार्यक्रममा राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्मरदत्त भट्ट र दीपक महर्जनलगायतको उपस्थिति रहेको थियो । विश्व बक्सिङ च्याम्पियनसित पोल्याण्डमा आगामी अप्रिल ११ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार ०६:२८