२३ बैशाख २०८३, बुधबार | Thu May 7 2026

माधव नेपालले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेः प्रधानमन्त्री ओली

३ चैत, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वका विरुद्ध आफुखुसी गुटगत भेला नगर्न÷नगराउन र त्यस्ता भेलामा सरिक नहुन सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । रोल ….
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले आव्हान गरेको भेलामा सहभागी नहुन निर्देशन दिनुभएको हो । उहाँले पार्टी भन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिनुभयो । पार्टी विधिविधान अनुसार चल्ने भन्दै उहाँले मनपरि गर्ने छुट कसैलाई नभएको बताउनुभयो । कानुनका नजरमा सबै समान हुने भन्दै उहाँले निर्देशन विपरित गुटगत भेला भएमा कारवाही हुन सक्ने संकेत पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “भोली भेला आव्हान गरेको छ रे । नेकपा एमालेसंग आवद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्ने नगराउन, त्यस्ता भेलामा सरिक, सहभागी र नजान सम्पुर्ण नहुन नेता कार्यकर्ताहरुलाई सजग सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । र त्यस्ता गुटगत भेलाहरुमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुदैन । ”

जंगलको राज चल्दैन

प्रधानमन्त्री ओलीले सडकमा विधि विधानका कुरा गरेर नेता नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गर्नुभयो । लक्ष्मीप्रसाद देवकोटाको कविता जंगलको राजको प्रंसग उल्लेख गर्दे उहाँले अब पार्टी भित्र अराजकता चल्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो “ जंगलको राज चलाउने अनि विधि पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मुल्य मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अंहकार स्वेच्छाचारिता । अब पार्टी २०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरु छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बोलाईएको छ । उहाँहरु भोली राष्ट्रिय भेला बोलाउने राष्ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के के समानान्तर कमिटी बनाउने अरे ।

समानान्तर होइन अर्को कमिटी बन्ला । कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ? तर यो एउटै पार्टीमा बसेर यस पार्टीमा अब उप्रान्त अराजकता , अनुसासनहिनता, उछृंखलता जस्ता कुराहरु , विधि विधान विपरितका कामकारवाहीहरु, पार्टीको एकताविरोधी कृयाकलापहरुमा छुट हुनेछैन । ती कुराहरु मान्य हुन सक्तैन । त्यस्ता कुराहरुलाई हामी सहेर बसिरहन सक्तैनौ । पार्टीलाई पार्टीको रुपमा चल्न नदिने । भाँडभैलो मच्चाउने । जहिले पनि भाँडभैलो मच्चाउने कुरा चाँही हुन सक्तैन ।”उहाँले पार्टीभित्र विचारमा एकतावद्ध भएर अनुसासित ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । सत्य र अनुशासित समाज निर्मााका लागि एकतावद्ध, अनुशासित र गतिशिल पार्टी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आत्मआलोचना

आफुहरुले फराकिलो सोच राखेको भन्दै उहाँले आत्मआलोचना सहित पार्टी एकताको पक्षमा उभिन नेता नेपाल समुहलाई आग्रह गर्नुभयो । उहाँले विगता जस्तै तमासा गर्ने कुरा अब पार्टी भित्र नचल्ने भन्दै चेतावनी दिनुभयो । उहाँले भन्नुयो “ठूला ठूला अपराध भएका छन् तर पनि हामीले फराकिलो बुझाई लिएका छौ । लिन्छौ फेरि पनि । एकदम अपराध गर्नेहरुलाई पनि स्वागत छ त म भन्दिनँ तर स्वीकारर्छौ हामी । पार्टीमा आउन पाईन्छ । काम गर्न पाईन्छ । आत्मआलोचना गरेर सच्चिएर काम गर्नुपर्छ । हामी स्वीकारर्छौ । तर फेरि उही सिलसिला चाँही चल्दैन । हिजोकै झै तमाासा गर्ने,जगहसाई गर्ने । अनि संचारमाध्यमहरुलाई खेति दिने । बिजनेस दिने । त्यो खालको कुराहरु हुन सक्तैन । ”

राम्रो लक्षण देखिएन

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षले आव्हान गरेको चियापानमा सरिक नभएर नेता नेपाल पक्षका नेता कार्यकर्ताले राम्रो नगरेको भन्दै उहाँले भन्नुभयो –एकथरि अनुहारहरु देखिएन आज । यो राम्रो लक्षण होइन । उहाँले नेता नेपाल समुहले भोलि बुधबारका लागि आव्हान गरेको भेलालाई आफुले हेरिरहेको भन्दै धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने नसोच्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो “एकथरि अनुहारका साथीहरु चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने ।

कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको प्रधानमन्त्रीको निमन्त्रणामा नजाने कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ तर नभनौ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर ? एकथरि अनुहारहरु देखिएन आज । राम्रो लक्षण होइन । कुनै कारणवस आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरुले त्यस्तो निर्णय गर्नुभयो भन्ने होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलीको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरु र कति तमासा गर्नुहुन्छ । एक नजर चाँही त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि विधान र तरिका अनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसंग नलड्ने निहुँ खोजुवाहरुसंग नझुक्ने । हाम्रो नीति त्यही हो ।”

सभामुख जिम्मेवार हुनुभएन

प्रधानमन्त्री ओलीले मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक पनि सञ्चालन गर्न नदिएबाट आफुले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टी हुदै गएको बताउनुभयो । मुद्दा लडेर फिर्ता ल्याएको संसद आफैले चल्न नदिने ,आफै बहिष्कार गर्ने, व्यवधान खडा गर्ने र आफै वेलमा गएर नारा लगाउने स्थिति देखिएको भन्दै ती कार्यले सरकारलाई पनि संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पुरा गर्न नदिएको टिप्पणी प्रधानन्त्रीले गर्नुभयो ।

उहाँले भन्नुभयो “अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नपर्छ । संविधान अनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिईएन । अथवा संविधान कार्यान्वयन गर्न दिईएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो । कार्यसूची बदलेर सभामुख जीले मन्त्री जी एकछिन पख्नुहोस् भनेर रोकेर पछि एकछिन स्थगित भनेर , फेरि एकछिन पछि अर्को दिनलाई सर्यो भनेर संविधानले संविधानले पहिलो दिन नै पेश गर्नुपर्ने संबैधानिक दायित्व पनि सरकारले पुरा गर्न पाएन । त्यो जिम्मेवारीबाट सरकारलाई व्यवहान खडा गरेर बञ्चित गरियो ।”

प्रधानन्त्री ओलीले सभामुख अग्नि सापकोटाले पनि संविधान कार्यान्वयनप्रतिको जिम्मेवार पुरा नगरेको दाबी गर्नुभयो । आफुले सधै संसदलाई नेताहरुको स्वार्थ तथा दलिय र गुटगत खिचातानीको थलो नभई जनताको हितका लागि प्रयोग गरौ भन्दै आएको भएपनि संसदलाई सो ढंगले चलाउन नदिएएको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले भन्नुभयो “संविधानको कार्यान्वनय प्रति सभामुखको जुन प्रतिवद्धता हुन पथ्र्यो । संविधान कार्यान्वयन प्रति उहाँको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङ्गबाट संविधानको कार्यान्वन हुन नदिनु,अझ एसिड आक्रमणका विरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानुन ल्याउनुपर्ने पीडीतहरुको माग , सम्पुर्ण महिला समुदायको माग अनुसार कडा कानुन ल्याउनुपर्ने माग र संसदबाट कानुन ल्याएर प्रक्रियाबाट जाँदा खेरी ‘तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याईएको थियो । त्यो पेश गर्न दिईएन भनेपछि संसदलाई कति कामकाजी कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ । संसदलाई निष्प्रभावी बनाउने चेष्टा भईरहेको छ । ”

पार्टी फुटाएकै हुन्

उहाँले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले विधि र पद्धति भन्दा बाहिर गएर पार्टी फुटाउने काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “एकढंगले पार्टी फुटाईएको थियो । अध्यक्ष निस्कासन गरिएको थियो । महासचिव निस्कासन गरिएको थियो । संसदीय दलको नेताबाट हटाईएको थियो । कहाँबाट हटाएको हो ? बाटाबाट हटाएको । उहाँहरु पद्धति, विधि अनुसार चल्ने मान्छे भएको हुनाले बाटैमा विधि पुराईदिनुहुन्छ । बाटैमा पद्धति पुराईदिनुहुन्छ । बाटैमा विधान पुराईदिनुहुन्छ । बाटैबाटैबाट अध्यक्ष हटाईदिनुभयो । बाटैबाटैबाट दलको नेता हटाईदिनुभयो । बाटैबाटैबाट दलको उपनेता हटाईदिनुभयो । बाटैबाटैबाट अनेक आदेश फरमानहरु ……म त कति विचरा भएको हुँला हेर्नुहोस् त ? म त साधारण सदस्यताबाट पनि निष्कासित । तपाईहरु त कमसेकम पार्टी सदस्य त हुनुहुन्छ होला । म त साधारण सदस्यताबाट पनि निष्कासित । बाटैबाटैको विधि पद्धति अनुसार । ”

प्रकाशित मिति : 15:28