३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

माधव नेपाललाई मन्त्री ढकालकाे जवाफः सडकबाट पदकाे लेनदेन हुँदैन

१ चैत, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहुशक्ति केन्द्र निर्माण हुन नदिने बताउनु भएको छ । एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उहाँले अब पार्टी विधिमा अघि बढ्ने दाबी गर्नुभयो ।

एमालेका केन्द्रीय सदस्य रहनुभएका मन्त्री ढकालले पार्टीलाई विधिमा लैजानकै लागि पार्टीको महाधिवेशन मितिसमेत तय भइसकेको उल्लेख गर्नुभयो । “हामी सडकबाट पद लिने र दिने गर्दैनौँ, विधिसम्मत तरिकाले अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो, “आगामी मङ्सिरमा हुने महाधिवेशनबाटै नेतृत्व चयन हुन्छ ।”

मन्त्री ढकालले कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागिरहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिई कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको पर्यटन क्षेत्रलाई अगाडि बढाउने बताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवराज भार र एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले बाँकेमा एमालेले गर्दै आएको गतिविधिबारे जानकारी गराउनुभयो ।

प्रकाशित मिति : March 14, 2021 at 7:27 pm