एमाले नेतृत्वकै सरकार पाँच वर्ष टिक्छः पूर्वमन्त्री पण्डित
२५ फागुन, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गर्नुभएकाे छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे,‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरि अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन् । आन्तरिक किचलो नेकपा एमलोभित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे-जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन् । नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ । पार्टीको नेतृत्व पँक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ ।’

उहाँले अब एमालेका नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउनेबाहेक अन्य क्रियाकलापहरु नगर्ने पनि दाबी समेत गर्नुभयाे । उहाँले भन्नुभयाे,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ । सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वासको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने विश्वास दिलाउनुभयाे ।
उहाँले भन्नुभयाे,‘मैले नेताहरुले फिर्ता लिनुपर्छ कि भनेर सुनेको हुँ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय भएको कुरा मलाई थाहा छैन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । विश्वासको मत बहुमत पुग्नेगरि आउँछ । यो सरकार ढल्दैन् । अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था देख्दिन् । विश्वासको मत लिन्छु भनेपछि राजीनामाको कुरा आएन् ।’
प्रकाशित मिति : 16:47









