४ मंसिर २०८१, मंगलवार | Tue Nov 19 2024

सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा सातदोबाटो युथ क्लबको अपराजित यात्रा कायमै

१७ फागुन, काठमाडाैँ । श्री भगवती क्लबमाथि १–० को साँघुरो जित निकाल्दै सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा अपराजित यात्रालाई सोमबार पनि निरन्तरता दिएको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङको गोल निर्णायक बनेको थियो । पेनाल्टीबाट निर्णायक बनेको गोल खेलको २५औं मिनेटमा भएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भगवतीका खेलाडीले विपक्षीको बल रोक्ने क्रममा पेनाल्टी क्षेत्रमा ह्यान्ड भएपछि सातदोबाटोलाई पेनाल्टी अवसर मिलेको थियो । दोर्जेले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीको अपराजित यात्रालाई निरन्तरता दिएका हुन् ।

जितपछि सातदोबाटोको ८ खेलबाट २२ अंक जोडेको छ । पराजित भगवतीको ८ खेलबाट ६ अंक भएको छ । ‘बी’ डिभिजिन लिग अन्तर्गत सोमबारकै अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले पनि टुसाल युथ क्लबमाथि १–० को साँघुरो जित निकालेको छ ।

एन्फा कम्प्लेक्सकै मैदानमा सम्पन्न दिनको पहिलो खेलमा आरसिटीलाई हराउँन ७३औं मिनेटमा अजित गुरुङले गरेको गोल निर्णायक बनेको थियो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले केही राम्रा अवसरहरु सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए ।

रोमाञ्चक जित निकालेको आरसिटी लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आरसिटीको ८ खेलबाट १२ अंक भएको छ । उता पराजित टुसालको समान ८ खेलबाट ८ अंक नै छ । टुसाल सातौं स्थानमा छ ।

लिगमा मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल मध्यपुर युथ एसोसियसन र श्री कुमारी क्लब तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबबीच हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार २१:२५