१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

कर्मभूमि समाज र एनबी बैंकबीच ‘सहुलियतपूर्ण कर्जा’ प्रदान गर्ने सम्झौता

१० फागुन, काठमाडाैँ । कर्मभूमि समाज र नेपाल बङ्गलादेश (एनबी) बैंकबीच कर्मभूमि समाजले सिफारिस गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । हात्तीवन–१५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकाहरूलाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत् वित्तीयकरण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको छ ।

देशमा उद्यमशीलता प्रवद्र्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्ने काममा क्रियाशील कर्मभूमि समाज र एनबी बैंकबीच साना, मझौला उद्यम, व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने सहमति भएको हो । समाजले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैंकको मापदण्ड अनुसारका कागजात, प्रस्ताव बैंक समक्ष पेश गर्नेदेखि नेपाल राष्ट्र बैंकको निर्देशिकाले तोकेबमोजिम शर्तहरू पालना गरी कर्जाका लागि ऋणग्राहीका तर्फबाट उक्त कागजातहरू तथा ऋणीका बारेमा बैंकका लागि आवश्यक जानकारी पेश गर्नेछ ।

सहुलियत कर्जा सम्बन्धि सरकारको नीति तथा नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार ब्याजदर र जोखिम बापत्को शुल्क बैंकले निर्धारण गर्नेछ र राष्ट्र बैंकको निर्देशन अनुसार यो परिवर्तन हुन सक्ने समाजले जनाएको छ । समाजले कर्जाको भूक्तानी सेड्युल अनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्ण रूपमा सहयोग गर्नेछ । सम्झौतापत्रमा समाजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजु नेपाल र बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख सुदीन ढुङ्गेलले हस्ताक्षर गर्नुभएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार १९:०३