धेरै नेताले प्रचण्डको साथ छोड्दै छनः मन्त्री रायमाझी
३० माघ, वुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनसङ्गठन इञ्चार्ज टोपबहादुर रायमाझीले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई एकाएक हटाउन खोज्दा प्रतिनिधिसभा विघटन गर्ने अवस्था आएको बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रायमाझीले प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा आयोजना गरेको प्रदेश भेलाको उद्घाटन गर्दै पार्टी एकताको म्याण्डेटअनुसार सबै निर्णय सहमतिमा गर्ने भनिए पनि दाहाल–नेपाल समूहले पदीय लोभका कारण सहमतिविपरीत कार्यहरु गरेर सरकालाई अप्ठ्यारोमा पार्ने काम गरेपछि प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरी जनतामा जाने निर्णय गरेको धारणा राख्नुभयो ।

उहाँले विपक्षीसँग मिलेर आफ्नै पार्टीका नेताले प्रधानमन्त्रीलाई प्रहार गर्ने काम भएको बताउँदै त्यस्ता गलत क्रियाकलापले नेकपाको दाहाल–नेपाल समूहलाई सडकमा पु¥याएको बताउनुभयो । “मैले उहाँहरुका गलत क्रियाकलापलाई नजिकबाट हेरेको छु । धेरैपटक सचेतसमेत गराएको छु तर मान्नुभएन”, उहाँले भन्नुभयो, “कि आफैँ जान्नुपथ्र्यो, कि भनेको मान्नुपथ्र्यो, अब सडकमा चिच्याएर केही हुन्न ।”
दाहाल–नेपाल समूहले सरकारमा रहेका केही मन्त्री आफ्नो समूहमा आउँदैछन् भनेर हल्ला फिजाएकामा आपत्ति जनाउँदै नेकपाका स्थायी कमिटी सदस्य रायमाझीले भ्रममा नपर्न आग्रह गर्नुभयो । “उल्टो दिशामा हिँडनेहरुसँग कोही जानेवाला छैनन्, बरु सो समूहका धेरै नेताहरु मूल पार्टीमा आउँदैछन् ।”
पछिल्लो समय नेपाली कांग्रेससहितका दलहरु चुनावको तयारीमा लागेको तर दाहाल–नेपाल समूह सडकमै अल्मलिएको बताउँदै उहाँले अब सडकमा अलमलिने समय नभएकाले मूल पार्टीमा जोडिन आग्रह गर्नुभयो ।
भेलामा प्रेस सङ्गठनका इञ्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले राजनीतिक स्थायित्व र मुलुकको हितमा सङ्गठन क्रियाशील रहेको जनाउँदै सत्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति : February 12, 2021 at 10:40 pm









