१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

आइपीएलको अक्सनमा सन्दीप लामिछानेसहित नेपालका आठ खेलाडी

२४ माघ, काठमाडाैँ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसक्नुभएको छ । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपीएलका लागि दर्ता गराएका हुन् ।

आइपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ । उक्त छनोट भारतको चेन्नइमा हुनेछ । आइपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन् । आइपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार १२:२१