माघ १६ गतेदेखि नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्काशन गर्ने
८ माघ, काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन गर्न लागेकाे हाे । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

भने बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो। सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा माघ २० गते बन्द हुनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ ३० गतेसम्म लम्बिनेछ। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
सो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ। बैंकले वार्षिक ८.५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ। ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले बैंकलाई इक्राएनपी आईआर सिङ्गल ए रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।
प्रकाशित मिति : January 21, 2021 at 10:33 am









