११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

विदुर नगरपालिका भ्रष्टाचारमा डुबेपछि वडाअध्यक्षहरूले नै मागे निर्णयको छायाँप्रति

५ माघ, काठमाडौँ । विदुर नगरपालिका भ्रष्टाचारमा डुबेपछि वडा अध्यक्षहरूले पारदर्शीको आवाज उठाएका छन । नगरपालिकाका ६ जना वडा अध्यक्षले लिखित निवेदन दिँदै नगरपालिकाको निरन्तरको अनियमितताको उत्खनन गर्न अहिलेसम्म नगरपालिकाबाट भएका निर्णयहरूको छायाँप्रति मागेका छन ।

नगरपालिकाभित्र निरन्तर अपारदर्शी काम भईरहेको र नगर नेतृत्वले निर्णय प्रकृयामा एकलौटी गर्दे आएको र भष्टाचार भएको बताउँदै ६ जना वडा अध्यक्षहरुले आजसम्मका सबै निर्णयहरुको छायाँप्रति माग गर्दे निवेदन दर्ता गराएका हुन् ।

उनीहरुले २०७४ साल असार ७ गते कार्यभार सम्हालेदेखि हालसम्मको सबै बैठकको निर्णयहरुको छायाँप्रतिका साथै कर्मचारीको विवरण र सवारी साधन मर्मत र ईन्धनमा भएको खर्चको सम्पूर्ण विवरण माग गरेका छन । स्रोतका अनुसार नगरपालिकाभित्र व्यापक अनियमितता भएको छ । जसको पूर्व सांसद नारायण खतिवडा लगायतले संरक्षण गर्दै आएका छन ।

राष्ट्रिय सूचना आयोगलाई बोधार्थ दिएर दर्ता गरिएको निबेदनमा वडा नम्वर २ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाही, वडा नम्वर ३ का वडा अध्यक्ष बद्रीप्रसाद रिमाल, वडा नम्वर ७ का वडा अध्यक्ष महेन्द्रबहादुर तमाङ, वडा नम्वर ८ का वडा अध्यक्ष फैसिङ तमाङ, वडा नम्वर १० का वडा अध्यक्ष गणेशकुमार नेपाल र वडा नम्वर १३ का वडा अध्यक्ष दलबहादुर तमाङको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : January 18, 2021 at 9:00 am