अक्टोबर ८ मा एडिलेडमा चर्चित व्यान्ड १९७४ एडी, भव्य तयारी
एडिलेड (अष्ट्रेलिया) — नेपाली संगीतको चर्चित रक ब्यान्ड ‘१९७४ एडी’ (1974 AD) ले अष्ट्रेलियाको एडिलेडमा सांगीतिक प्रस्तुति दिने भएको छ। ब्यान्डको बहुप्रतीक्षित ‘१९७४ एडी लाइभ इन एडिलेड – रक यात्रा टुर २०२६’ आगामी अक्टोबर ८, २०२६ (बिहीबार)का दिन एडिलेडको हिन्ड्ली स्ट्रिट म्युजिक हल (Hindley Street Music Hall) मा आयोजना हुँदैछ।
अस्ट्रेलियाभर हुने ‘रक यात्रा’का कार्यक्रममार्फत कम्तीमा २० हजार अस्ट्रेलियन डलर जुटाउने लक्ष्य राखिएको छ। विभिन्न सहरमा बिक्री हुने टिकटबाट संकलित रकम नेपालका विपद् प्रभावित परिवारको सहयोगमा उपलब्ध गराइनेछ।
गिरिश इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट र थ्री केजी इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको हो ।
आयोजक मध्येका थ्री केजी ईभेन्टका निर्देशक खुम घलेले कन्सर्ट केवल सांगीतिक मनोरञ्जनमा मात्र सीमित नरही नेपालका बाढीपहिरोपीडितको सहयोगार्थ सञ्चालन गर्न लागिएको बताउनुभयो।
नेपालमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासमा रहेका नेपालीहरूलाई मातृभूमिप्रति ऐक्यबद्धता जनाउन ‘टुगेदर फर नेपाल’ (Together for Nepal) अभियानअन्तर्गत यो कन्सर्ट आयोजना गर्न लागिएको हो।
अष्ट्रेलियाभर बिक्री हुने प्रत्येक टिकटबाट २ अष्ट्रेलियन डलर नेपालको बाढीपहिरो राहत अभियानका लागि छुट्याइनेछ।
टिकट बिक्री तथा अन्य सहयोगमार्फत कम्तीमा २० हजार अष्ट्रेलियन डलर (करिब १८ लाख नेपाली रुपैयाँ) संकलन गरी विपद्पीडित परिवारलाई प्रदान गरिने घलेले बताउनुभयो।
कन्सर्टमा १९७४ एडीका मुख्य गायकहरू एड्रिन प्रधान, फिरोज स्याङ्ताङ लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
सन् १९९० को दशकमा काठमाडौँमा स्थापना भएको यस ब्यान्डले ‘परेलीमा’, ‘छुँदैन तिम्रो मायाले’, ‘जति माया लाए पनि’, ‘चौबन्दी चोली’, ‘मुटु भरी भरी’, ‘साँझको बेला’, ‘गुराँसै फुल्यो’ र ‘हिँड्दा हिँड्दै दोबाटोमा’ जस्ता आफ्ना चर्चित कालजयी गीतहरू प्रस्तुत गर्नेछ।
आयोजकहरूले एडिलेडस्थित सम्पूर्ण नेपाली समुदाय तथा संगीतप्रेमीहरूलाई कन्सर्टमा सहभागी भई मनोरञ्जन लिनुका साथै बाढीपहिरोपीडितको राहत अभियानमा हातेमालो गर्न हार्दिक अपिल गरेका छन् ।
प्रकाशित मिति : September 29, 2026 at 2:39 am




