७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

साइबर सुरक्षाको जोखिम देखाउँदै राष्ट्र बैंकले बन्द गर्‍यो आफ्ना वेबसाइट र सेवा

६ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (PHP) मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनामार्फत यस्तो जानकारी दिएको हो । बैंकका अनुसार वेब प्रविधि (PHP) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण वेबसाइट तथा सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरिएको हो ।

यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा असुविधा पर्न गएकोप्रति राष्ट्र बैंकले क्षमायाचना गरेको छ ।

राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहनसमेत अनुरोध गरिएको छ ।

साथै, सम्भावित साइबर जोखिमलाई नियन्त्रण गर्न आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न तथा नियमित सुरक्षा निगरानी बढाउन राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई अपिल गरेको छ ।

राष्ट्र बैंकले २०८३ कात्तिक ६ गते जारी गरेको सूचनामा वेबसाइट तथा सेवाहरू पुनः सञ्चालनमा आउने समय भने खुलाएको छैन ।

प्रकाशित मिति : October 23, 2026 at 11:04 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/