रिमझिम एफसीलाई दसैँ कप २०२६ को उपाधि, जुनियर तर्फ एडिलेड नेपाली विद्यालय
एडिलेड — रिमझिम फुटबल क्लबले एडिलेडमा सञ्चालित दसैँ कप २०२६ को उपाधि चुमेको छ। प्रतियोगिताभर उत्कृष्ट र अपराजित प्रदर्शन कायम राख्दै फाइनलमा जीएसए फुटवल क्लबलाई १–० गोल अन्तरले पराजित गरी रिमझिम एफसी च्याम्पियन बनेको हो।
प्रतियोगितामा समूह चरणदेखि फाइनलसम्म लगातार ५ खेल जित्दै रिमझिम एफसीले उपाधिमाथि कब्जा जमाएको हो।
प्रतियोगिताभर रक्षात्मक रूपमा अत्यन्तै बलियो देखिएको रिमझिम एफसीले ५ खेलमा मात्र १ गोल खाएर ४ वटा खेलमा ‘क्लिन सिट’ (Clean Sheet) राख्न सफल भयो ।
समूह चरणको पहिलो खेलमा एकेएफसी ब्लु लाई १–० र दोस्रो खेलमा प्राइम फुटबल क्लबलाई २–० ले हराउँदै रिमझिम समूह विजेता बनेको थियो।
यसैगरी क्वाटरफाइनलमा गोर्खा स्टार्स फुटबल क्लबलाई ३–० को फराकिलो अन्तरले पाखा लगाउँदै सेमिफाइनल पुगेको टोलीले सेमिफाइनलको प्रतिस्पर्धात्मक खेलमा एडिलेड ड्रयागन स्पोर्टिङ क्लब (एडीएससी) लाई २–१ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। फाइनलमा जीएसएविरुद्ध १–० को कठिन जित निकाल्दै टोलीले च्याम्पियनको ट्रफी उचालेको हो।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ रिमझिमकै वर्चस्व रहयो । उपाधिसँगै प्रतियोगिताका उत्कृष्ट व्यक्तिगत पुरस्कारहरूमा पनि रिमझिम एफसीका खेलाडीहरूले कब्जा जमाएका छन । सेमिफाइनल र फाइनल दुवै खेलमा ‘प्लेयर अफ द म्याच’ बनेका सुलभ मास्के प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।मध्यपंक्तिमा उत्कृष्ट प्रदर्शन गरेका विशाल बस्नेत प्रतियोगिताको ‘बेस्ट मिडफिल्डर’ चुनिए।
टिमको सफलतापछि प्रतिक्रिया दिँदै क्लबका म्यानेजर लोक आचार्यले यो ट्रफी सम्पूर्ण खेलाडी, कार्यसमिति र समर्थकहरूको मिहिनेतको फल भएको बताउनु भयो ।
त्यस्तै, टोलीका कप्तान सोनम तामाङले रक्षात्मक अनुशासन र निर्णायक मोडमा खेलाडीहरूले देखाएको धैर्यता नै जितको मुख्य आधार रहेको उल्लेख गर्नु भयो भने क्लबका अध्यक्ष सजिन प्रधानङ्गले सम्पूर्ण टोलीलाई बधाई दिँदै यो सफलता रिमझिम फुटबल क्लबको लागि ऐतिहासिक क्षण भएको बताउनु भयो ।
यसै गरी जुनियर फुटवल तर्फको खेलको फाईनलमा एडिलेड नेपाली विद्यालयले नेपाली पाठशाला माथी बिजय हासिल गरेको छ । एडिलेड नेपाली विद्यालयका प्रार्चाय हिमाल राज कडेलले विद्यार्थी र प्रशिक्षकहरुको मेहनतका लागि धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रकाशित मिति : October 10, 2026 at 6:47 am





