१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्रिय जनता पार्टी नेपालद्वारा सांसद चौधरीलाई रिहाइ गर्न माग

६ असार, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचित सांसद रेशम चौधरीलाई शीघ्र रिहाइ गर्न सरकारसँग माग गरेको छ ।सोमबार शुरु भई आज सम्पन्न रापजा नेपालको राजनीतिक समितिको बैठकले सांसद चौधरीलगायत मधेश आन्दोलनका क्रममा विभिन्न जिल्लामा बन्दी बनाइएका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता गरी रिहाइ गर्न माग गरेको हो ।

बैठकले मधेश थरुहट आन्दोलनका क्रममा भएका ज्यादतीको छानविन गरी सत्यतथ्य जनसमक्ष ल्याउन सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक छानविन आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नसमेत माग गरेको छ ।

सरकार गठन हुँदाका बखत प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएका प्रतिबद्धताअनुसार यथाशीघ्र संविधान संशोधन गर्न बैठकले माग गरेको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राजपा नेपालको विधान २०७४ को धारा–२२ (१०) मा “राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन एक वर्षभित्र सम्पन्न गरिनेछ”, लेखिएकामा त्यसलाई “दुई वर्ष्भित्र सम्पन्न गरिनेछ” भनी संशोधन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७५, बुधबार १७:४४