८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य होः प्रधानमन्त्री ओली

३० मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताउनुभएको छ । नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन गर्दै उहाँले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य हो भन्नुभयो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अपेक्षा पूरा गराउने क्रममा हरेक क्षेत्रको भूमिका हुने भएकाले मानवीय अन्तरप्रज्ञालाई जागृत गर्दै त्यसमा मानव समाजलाई सार्थकरुपमा हिँडाउनु प्राज्ञिक निकायको दायित्व भएको पनि बताउनुभयो ।  तपोभूमि र अमूल्य वरदानयुक्त नेपालका पाखा र खोँचमा अनेक महाकाव्य लुकेर बसेका तथा कैयौँ आविष्कार गर्भमा रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल र नेपाललाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशनको योजना आरम्भले आफूलाई हर्षित तुल्याएको बताउनुभयो ।

उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय सङ्ग्रहालय निर्माणको प्रक्रिया शुरु हुनाले अग्रजको सम्मानको प्राज्ञिक थालनी भएको र यस्ता काममा सरकारको सहयोग निरन्तर रहने जानकारी गराउनुभयो । सभाले वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रकाशित मिति : December 15, 2020 at 12:35 pm