लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गर्याेः वरिष्ठ नेता पौडेल
२९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि सरकारले नै प्रहार गरिरहेको बताउनुभएको छ । सरकारको विरोधमा कांग्रेसले काठमाडौँमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि सरकारले नै पहिलो प्रहार गरेको बताउनुभयो । लोकतन्त्रमाथि प्रहार गर्नेहरुमा प्रतिगामी तत्व (राजावादी) र विप्लव माओवादी दोस्रो र तेस्रो रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्तावादी कम्युनिष्टले गर्दैछ ।
दोस्रो प्रहार देशका प्रतिगामी तत्वहरुले गर्दैछन् र तेस्रो प्रहार हिजो कै माओवादी भित्रका विप्लबले गर्दैछ । यी सबै तत्वहरु लेकतन्त्रलाई यो देशमा टिक्न नदिने, सहन नसक्ने, जनताको अधिकारलाई सम्मान गर्न नसक्ने, लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्ने तत्वहरु हुन् ।’वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु नै लोकतन्त्रवादी नभएकाले जनताले दुःख पाइरहेको बताउनुभयो । अलोकतान्त्रवादीहरुले सरकार चलाइरहेकाले लोकतन्त्र संकटमा पार्न खोजिएको बताउनुभयो । तर नेपाली कांग्रेस रहदा सम्म लोकतान्त्रलाई संकटमा पार्न नदिने समेत वरिष्ठ नेता पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘देशमा यत्रो ठूलो संघर्ष गरेर आएको लोकतान्त्रिक व्यवस्था छ तर यो लोकतान्त्रिक व्यवस्थाका सञ्चालकहरु लेकतन्त्रवादी छैनन् । यिनको दर्शन, यिनको सिद्धान्त, यिनको पृष्ठभूमि नै लोकतन्त्रवादी छैन, अलोकतन्त्रवादी छ । जसले गर्दा आज लोकतन्त्र संकटमा पार्न खोजिदै छ ।’वरिष्ठ नेता पौडेलले राजाको निर्दलिय पञ्चायतमा रुख रोप्दा टाउको फुटाउने गरेको स्मरण गर्दै अहिलेका कम्युष्टिहरुले पुल बनाउँदा करङ्ग भाँचिदिएको बताउनुभयो ।
उहाँले राजा र कम्युनिष्ट एक सिक्काका दुईपाटा भएको टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘राजाको निर्दलिय पञ्चायतको बेला हामीले रुख रोप्दा हाम्रा टाउका फुटथिए, आज कम्युनिष्टको सर्वसत्तावादमा हामीले पुल बनाउँदा हाम्रा करङ्ग भाँचिदैछन् । यो एउटा विडम्बना हो । यो एउटै सिक्काका दुईपाटा हुन् । अधिनायकवादका दुईवटा स्वरुप हुन चाहे जुनसुकै नाममा आओस । प्रवृति उही हो । मनोवृति उही हो । सबै सत्ता आफ्नो हातमा लिएर आफै मोज गर्ने, आफ्नो हात जगन्नाथ गर्ने, आफ्ना मान्छे पोस्ने आफ्नै वर्ग खडा गर्ने वा वर्ग जन्माउने फेरी यो देशमा अभ्यास भइरहेको छ ।’

देशमा भ्रष्ट्राचार, असुरक्षा र पक्षपात बढेको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । राज्यको ढुकुटी मासेर स्थानीय सरकार र प्रदेश सरकारको अधिकार खोसेर आफ्ना कार्यकर्तालाई पोस्ने काम भएको पनि उहाँले बताउनुभयो । भ्रष्ट्राचारमा सरकार डुबिसकेको पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । कम्युनिष्ट पार्टीकै बहुमत नेताहरुले नै सरकार भ्रष्ट्राचारमा डुबिसकेको बताइसकेकाले अरु भन्नुपर्ने कुरै नभएको पनि उहाँले बताउनुभयो । सरकारले सत्ताको दुरुपयोग गरिरहेको अारोप उहाँको छ ।
७० वर्ष सम्म जनताले लडेर ल्याएको संविधान र सपुतहरुको अथक प्रयासबाट कायम भएको व्यवस्था खलबलाउने काम भएको पनि उहाँले बताउनुभयो । सरकार कम्युनिष्ट पार्टीको भएपनि देश कम्युनिष्ट नभएको भन्दै सरकारले देशलाई कम्युनिजम बनाउने दुस्साहस गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकार कम्युनिष्ट पार्टीको होला तर देश कम्युनिजम होइन । देश साम्यवादी होइन । कम्युनिष्टको सरकार होला, कम्युनिष्ट पार्टीको होला तर राज्य कम्युनिष्ट होइन । तर राज्यलाई नै कम्युनिष्ट बनाउने दुस्साहसहरु आज यिनिहरुले गर्न गइरहेका छन् ।’
अहिले देश पूर्ण रुपमा असफलतातिर गइरहेको र त्यसको हिसाब अवको चुनावमा जनतासँग माग्ने पनि वरिष्ठ नेता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो सरकार पूर्ण रुपमा असफलतातिर गइरहेको र हामी त्यसको हिसाब आउँदो चुनावमा जनताकोमा गएर माग्छौं । हामी लोकतन्त्रबादी हौं । अहिल्यै हामी सरकार फाल भनिरहेका छैनौं । सरकार जान्छ भने उनकै अन्तरद्धन्द्धले जान्छ । हामीलाई लेनादेना केहीपनि छैन तर हामी यसको हिसाब छोडनेवाला छैनौं ।’वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसबाट कुनै कमिकमोजरी भएमा सुधार गरी सच्याएर अगाडि बढ्न चाहेको पनि प्रष्ट पार्नुभयो ।
प्रकाशित मिति : 18:52









