१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुन्छः मन्त्री पण्डित

२ असार, कास्की । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको बताउनुभयो ।

निर्माणका बारेमा विभागीय मन्त्रीसँग समेत पोखरा विमानस्थलको बारेमा कुरा भएको जानकारी दिँदै उहाँले स्थानीय सरकारदेखि संघीय सरकारसम्म विमानस्थलका बारेमा सकारात्मक रहेको उल्लेख गर्नुभयो । “अब अन्य कुरामा अल्मलिने नभई चार दशकदेखिको पोखरेलीको सपना पूरा हुने विश्वास व्यक्त गर्दै मन्त्री पण्डितले निजगढ विमानस्थल त्रिभुवन विमानस्थलभन्दा अझ राम्रो हुने र भैरहवा विमानस्थल छिट्टै सञ्चालनमा आउने बताउनुभयो ।

आयोजना प्रमुख इन्जिनियर विनेश मुनकर्मीले हालसम्म ४५ प्रतिशत माटोसम्बन्धी कार्य सम्पन्न भइसकेको र डिजाइनसहित १२ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । रिठ्ठेपानी डाँडा १४.२ मिटर काट्नुपर्ने देखिएको जानकारी दिँदै उहाँले धावन मार्ग दुई हजार ५०० मिटर लम्बाई र ६० मिटर चौडाईको हुने बताउनुभयो ।

उहाँका अनुसार विमानस्थलको पूर्वपट्टि विजयपुर खोलातर्फको भागमा साउन मसान्तसम्ममा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रशासकीय अधिकृत शेषनारायण पौडेल, पोखरा–१४का अध्यक्ष प्रेमबहादुर कार्की ठेक्का लिएको कम्पनी चीनको सिएमसिईका झु झान फेङलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार २०:१५