१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नुवाकोटको विदुरसहित १२ स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको निर्णय

१३ मंसिर, काठमाडाैँ । सरकारले नुवाकोटको विदुरसहित १२ स्थानामा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले बाग्मती प्रदेशमा नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० को शुभघाट एरियाको कित्ता १८७ रोपनी सरकारी जग्गामा औद्योगिक ग्राम स्थापना गरिने जानकारी दिनुभयो ।

बागमती प्रदेशको राजधानी नुवाकोटलाइ बनाउने अभियानमा धक्का लागेपछि नेकपा बागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डे, बाग्मती प्रदेशका सांसद बद्री मैनाली लगायतले संघीय सरकारसँग विदुरमा औद्योगिक ग्राम स्थापना गरिदिन संघीय सरकारसँग अनुरोध गरेका थिए । प्रकियागत रूपमा विदुर नगरपालिकाले पनि औद्योगिक ग्राम स्थापनाका लागि पहलकदमी लिएपछि गत कात्तिक अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।

प्रवक्ता गुरूङका अनुसार प्रदेश नम्बर १ का ३ वटा स्थानलाई औद्योगिक ग्राम घोषणा गरिएको छ । जसमा उदयरपुर रौतामाई गाउँपालिका वडा नम्बर ५ को जम्मा ६३ रोपनी २ आना १ पैसा सरकारी जग्गा, तेह्रथुपको म्याङलुङ गाउँपालिकाको वडा नम्बर १ र १० ओख्रेटोलमा रहेको ६४ रोपनी ४ आना १२ पैसा २ दाम सरकारी जग्गा र उदयपुर जिल्लाकै बेलका नगरपालिका वडा नम्बर ५ मा रहेको ८ विगाहा सरकारी जग्गामा औद्योगिक ग्राम स्थापना गरिनेछ ।

त्यसैगरी गण्डकी प्रदेश अन्तर्गत ५ वटा स्थानलाई औद्योगिक ग्रामका रुपमा विकास गरिनेछ । जसमा स्याङजाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ५ स्थित ९३–८–०–३रोपनी सरकारी जग्गा, तनहुँको भानु नगरपालिका वडा नम्बर ३ मा रहेको ४७ रोपनी सरकारी जग्गा, नवलपरासीको बौदीकाली गाउँपालिका वडा नम्बर २ को १०० रोपनी सरकारी जग्गा, मनाङको चामे गाउँपालिका वडा नम्बर ४ को १०० रोपनी सरकारी जग्गा र पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ स्थित ३८४ रोपनी ८ आना २ पैसा जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले कर्णाली प्रदेश अन्तर्गत जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर ४ को तिमिलेखापामा पर्ने ४८ रोपनी सरकारी जग्गा, सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर ११ मा पर्ने रोपनी २० बिगाह जग्गा र सुर्खेत जिल्लाकै चौकुने गाउँपालिका वडा नम्बर ५ मा पर्ने करिब १० बिगाह जग्गामा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : November 28, 2020 at 10:18 am