२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

१२ मंसिर, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रमको उद्घाटनमा उहाँले विधिविधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद् सफल हुने धारणा व्यक्त गर्नुभयो ।

संविधानले आवश्यक मौलिक हकको व्यवस्था गरेको र लोकतन्त्रका सबै मूल्यमान्यता समेटेको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको कार्यान्वयनबाट जनताका अपेक्षा पूरा गर्न सकिने बताउनुभयो । अर्काे फरक प्रसङ्गमा उहाँले राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यकता रहेको औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घले कानून नबनाएर प्रदेश र स्थानीय तहले काम गर्न सकेन भन्ने अवस्था नआओस् भनेर सङ्घीय संसद् तयार रहेको बताउँदै त्यसका लागि सरकारलाई पनि आग्रह गर्नुभयो । उहाँले संविधानका मौलिक हक र समाजवादोन्मुख राजनीतिक लक्ष्य निरन्तर कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तह सबैको भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 13:47