२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रचण्डहरूले पार्टीभित्र मर्यादाको सीमा नाघेः महासचिव पाैडेल

१० मंसिर, वुटवल । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेकपामा यो तहको समस्या कहिल्यै नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ ।”

महासचिव पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताउँदै पार्टी एकता जोगाउँदै विवाद समाधान गरी अघि बढ्नाको विकल्प नभएको बताउनुभयो । उहाँले अन्तिम क्षणसम्म पनि पार्टी एकता जोगाउन लागिपर्ने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्र प्रचण्ड लगायतका नेताले सीमा नघेर गतिबिधि गरिरहेको बताउनुभयो । उहाँले सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । मर्यादा बाहिर गएर भएका आरोपप्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुनेछ भन्दै उहाँले पार्टी एकताको रक्षाका लागि एक ठाउँमा उभिन सबैलाई आग्रह गर्नुभयो ।

पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने विश्वास व्यक्त गर्दै महासचिव पौडेलले आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको बताउनुभयो । पत्रकार भेटघाटमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा नभई संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा छलफल भएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सरकार देश र जनताका पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढेको स्पष्ट पार्नुभयो । “अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ”, उहाँले भन्नुभयो । मन्त्री पौडेलले प्रदेशको राजधानी नहुँदा पनि रुपन्देहीलाई कुनै असर नपर्ने स्पष्ट पार्दै सो ठाउँलाई अझै माथि उठाउन विकासका मुद्दालाई ओझेलमा पर्न नदिने सङ्कल्प व्यक्त गर्नुभयो । उहाँले भन्न्ुभयो, “यस ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन । आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्दै लैजान्छौँ । ”

अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका पौडेलले आज उद्योगी व्यवसायीसँग बुटवलमा छलफल गर्नुभएको छ । अर्थमन्त्री पौडेल बुधबार रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ । उहाँले तिनाउ – दानव कोरिडोर सडकको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : 07:20