१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मूल्यवृद्धि फिर्ता नगरे अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सरकारविरूद्ध कडा संघर्ष गर्ने

३१ जेठ, काठमाडाैँ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले सरकारविरूद्ध संघर्ष गर्ने भएका छन । बिहीबार अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा बसेको दुर्इ विद्यार्थी संगठनको संयुक्त बैठकले पेट्रोलियम पदार्थको मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकार र नेपाल आयल निगमको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । बैठकले ८ बुँदामा सरकारकाे ध्यानाकर्षण गराउँदै अविलम्ब माग सम्बाेधन नभए सडक संघर्ष चर्काउने निर्णय गरेको अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले जानकारी दिइन ।

यी हुन बैठकका निर्णयहरू

१) पेट्रोलियम पदार्थको मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकार र नेपाल आयल निगमको गम्भीर ध्यानाकर्षण गराउँदछौं । यससँगै सरकारलाई पेट्रोलियम पदार्थमा तोकिएको करको दर घटाउन र नेपाल आयल निगमको अनावश्यक फजुल खर्च र चुहावट रोक्न माग गर्दछौं ।

२) विगतमा रातो र निलो गरी दुई खालका सिलिन्डर बनाई रातो सिलिन्डरलाई सहुलियतपूर्ण दरमा वितरण गर्ने विद्यार्थी संगठनसँगको सम्झौता अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं ।

३) विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण प्रदान गर्ने बजेटको व्यवस्थालाई स्वागत गर्दै त्यसलाई ठोस कार्यविधि बनाई अबिलम्ब कार्यान्वयन गर्न अर्थ मन्त्रालय लगायतका सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं । साथै उक्त ऋणमा व्यवस्था गरिएको ५ प्रतिशत व्याजको विद्यमान प्रावधान खारेज गरी विद्यार्थी आन्दोलनको माग अनुसार विना व्याज शैक्षिक ऋण उपलब्ध गराउन माग गर्दछौं ।

४) संविधानको धारा ३१ को उपधारा १ र २ बमोजिम शिक्षामा सबैको पहुँच स्थापित गर्न र विद्यालय तहको शिक्षा निःशुल्क बनाउने प्रावधान कार्यान्वयनका लागि शिक्षामा छुट्याइएको बजेट अपर्याप्त रहेकाले २० प्रतिशत बजेट छुट्याउन पुनश्चः विशेष माग गर्दछौं ।

५) ‘संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२’ कार्यान्वयन गर्न र बढाइएको शुल्क फिर्ता गर्न विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबिच भएको सहमति कार्यान्वयनमा देखाइएको उदासिनता प्रति खेद प्रकट गर्दै उक्त सहमतिको अक्षरश कार्यान्वयन गर्न गराउन गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौं ।

६) मुलुकलाई अनावश्यक आर्थिक भार पर्नेगरी भुतपुर्व विशिष्ठ श्रेणीका पदाधिकारीहरुलाई सुविधा दिनका लागि अघि बढाइएको प्रक्रिया तत्काल रोक्न माग गर्दछौं ।

७) समयमा काम सम्पन्न नगर्ने ठेकेदार र महँगी, कृत्रिम अभाव र कालोबजारी गर्ने व्यापारीलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई विशेष ध्यानाकर्षण गराउँदछौँ ।

८) कानुन संकाय अन्तर्गत नेपाल ल क्याम्पसमा देखिएको भर्ना समस्या समाधान गर्नका लागि अघिल्लो शैक्षिकशत्रकै संख्या बराबरका विद्यार्थीको भर्ना सुनिश्चित हुनेगरी भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।

उपरोक्त माग पुरा गराउन सरोकारित निकाय केन्द्रित हुनेगरी चरणबद्ध संघर्षका कार्यक्रमहरु जारी छन् । हाम्रा माग अविलम्ब पुरा नगरिए जारी आन्दोलनलाई नयाँं उचाईमा पु¥याउँदै थप कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौँ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार १७:०७