क्रिकेटको बन्द प्रशिक्षणको तयारी पुराः क्यान
८ मंसिर, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणको तयारी पुरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाएको छ । बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडी प्रशिक्षक तथा ग्राउण्ड स्टाफको मंगलबार पीसीआर परीक्षण गरिने छ ।
पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आउने खेलाडी तथा प्रशिक्षकहरुलाई राजधानीको एक होटेलमा राखिने छ भने ग्राउण्ड स्टाफलाई कीर्तिपुर मैदानमै राख्ने व्यवस्था गरिएको छ ।
ग्राउण्ड स्टाफलाई पहिलो चरणमा एक महिना घर जान दिइने छैन भने खेलाडीहरुलाई पनि होटलबाट मैदानसम्म आउनका लागि क्रिकेट संघ कै बस प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दुर्गाराज पाठकले क्लोज क्याम्पको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
खेलाडीहरुलाई राख्नका लागि होटेल पनि आइसोलेट गरिएको र त्यहाँ अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले बताए । यस्तै, स्वास्थ्य मापदण्डका कुराहरुमा क्यान संवेदनशील रहेको बताउँदै अहिलेको अवस्थामा सम्पूर्ण कुराहरु मिलाउन चुनौती रहेको भएपनि खेलाडीहरु मैदान उत्रन उत्साहित रहेको बताए ।
प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार १७:०४