प्रचण्डको एकल प्रस्तावले नेकपाको एकता गम्भीर संकटमाः मुख्यमन्त्री पोखरेल
२९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका द्धितिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले नेकपाको एकता थप गम्भीर मोडमा पुगेको बताउनुभएको छ । शनिबार सामाजिक सञ्जाल मार्फत मुख्यमन्त्री पोखरेलले पार्टीको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्तावले पार्टी फुटका लागि बल गर्ने भन्दै फिर्ता लिन अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ ।’
उहाँले व्यक्तिगत पत्र र संस्थागत पत्र एवं प्रस्तावहरू फरक हुने भन्दै सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टी एकताको मर्म विपरितको पत्र फिर्ता लिन अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभएको छ ‘म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु । व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य वुझ्न अनुरोध छ ।’
प्रकाशित मिति : 12:14







