२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कोरोनाविरूद्धको खोप आयातका लागि अध्यादेश ल्याइन्छ: मन्त्री ढकाल

२७ कात्तिक, मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिनुभएको छ । उहाँले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाउनुभयो ।

प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शै्ययाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गर्नुभयो । उहाँले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताउनुभयो ।

मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५०० सय शै्यया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताउनुभयो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले बिहीबार नै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गर्नुभएको थियो ।

प्रकाशित मिति : 22:00