नेकपा प्रचण्ड समूहको भेला धुम्बाराहीमा, विभाजनको नक्सा कोर्ने सम्भावना
२५ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष भनिएका प्रचण्डसहितका सचिवालयका पाँच जना नेताको भेला धुम्बाराहीमा सुरू भएको छ । उक्त भेला अघि प्रचण्डले नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेटवार्ता गरेका थिए । उक्त भेटमा के कुरा भएको छ भन्ने बारेमा कुनै कुरा खुलेको छैन ।
धुम्बाराहीमा प्रचण्डसहित उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन । सचिवालयमा रहेका अन्य चार जना सदस्य भने धुम्बाराहीमा पुगेका छैनन् । यसअघि हामीले बैठक बोलाउन सक्दैनौ भनेर ओलीको निवेदन हालेको भए पनि आज उनीहरूले बैठकका मितिहरू तय गर्ने सम्भवना रहेको छ ।

उनीहरूको यो भेलाले पार्टी विभाजनको स्पष्ट नक्सा कोरिने समेत सम्भावना रहेको छ । नेकपाको विधानमा बैठकहरू दुइ अध्यक्षको सहमतिमा बोलाइने भनेर स्पष्ट रूपमा लेखेको छ । बहुमतको बलमा प्रचण्ड समहूले बैठकको मिति तय गरे भने त्यो नै विभाजनको घेरा हुन्छ भनेर यसअघि ओलीले प्रचण्डलाइ भनिसकेका छन । नेताहरूले पार्टी विभाजनको डिलमा पुगेको भन्दै सहमतिको प्रयास भने जारी राखेका छन ।
प्रकाशित मिति : 16:55









