२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नेकपा भित्रको नयाँ समिकरण पार्टी एकताका लागि घातकः उपप्रधानमन्त्री पोखरेल

२२ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँ निर्वाचन क्षेत्र नंम्वर ५ का अगुवा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्नुभएको छ । अन्तरक्रिया कार्यक्रममा पार्टीभित्रको समिकरण निर्माण र त्यसले निम्त्याएको संकटबारे अगुवा नेता⁄कार्यकर्ताले चासो र चिन्ता व्यक्त गरेका थिए ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले पार्टी केन्द्रको विवाद र असहज परिस्थितिले निम्त्याएको अन्यौलताबारे कार्यकर्ताले राखेको चासोलाई सम्वोधन गर्नुभएको थियो । पार्टी एकताको महत्वलाई सविस्तार व्याख्या गर्दै नेता पोखरेलले अहिलेको समस्यालाई पार्टी पद्धती र संस्थागत प्रणालीलाई सबल तुल्याउने सम्वन्धमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयको धरातलमा उभिएर हेर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

स्थायी कमिटी बैठकले गरेका निर्णयलाई इमान्दारीतापूर्वक कार्यन्वयन गर्नुपर्नेमा उहाँको जोड थियो । ‘पार्टी एकतालाई सुदृढ गर्नका लागि स्थायी कमिटीका निर्णयलाई विनासर्त कार्यन्वयन गर्नुपर्ने थियो । त्यसो नभएर फेरी पार्टीभित्र समीकरण बनाउने जुन प्रयास र खेल भयो त्यो ठिक भएन ।’

उहाँले भन्नुभयो–‘ पार्टी एकताका निम्ती समिकरण बनाउने कुरा घातक हुन्छ ।’ स्थायी कमिटीको त्यस निर्णय विपरित खेल हुन थालेपनि समस्या देखा परेको उहाँको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला कमिटी सदस्य र क्षेत्रका अगुवा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : 07:57