२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

म्याराडोना ६० औँ वर्षमा प्रवेश, यस्ता छन जन्मदिनको शुभकामना

१५ कात्तिक, काठमाडाैँ । विश्वभरका खेलकुद जगतले अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई शुभकामना तथा वधाइ दिएका छन् । उहाँ शनिबार ६० वर्ष पुग्नुभएको छ । ब्राजिलका महान् फुटबल खेलाडी पेलेले सामाजिक इन्स्टाग्राममा लेख्नुभएको छ, “मेरो महान मित्र, म्याराडोनालाई म सदैव प्रशंसा गर्नेछु । म तपाईंलाई सदैव सहयोग गर्नेछु ।

तपाईको जीवन यात्रा लामो होस् । तपाई सधैं मुस्कुराउनुहोस् र मलाई पनि मुस्कान दिनुहोस । जन्मदिनको शुभकामना ।” म्याराडोनालाई १५० भन्दा बढी खेलाडी तथा खेलप्रेमीहरूले अभिवादन गरेको एक भिडियो स्पेनी जनसम्पर्क प्रतिनिधि रिची कास्टेलानोसले बनाउनुभएको छ । एक घण्टाभन्दा बढीको भिडियोमा इटालियाली युभेन्टसका सुप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि रहनुभएको छ ।

म्यारोडोनाले मेक्सीकोमा भएको सन् १९८६ को विश्वकप फुटबलमा अर्जेन्टिनालाई विजयी बनाउँदै आफूलाई विश्वकै प्रसिद्ध खेलाडीको सूचीमा स्थापित गर्न सफल भएका थिए । यसैबीच म्याराडोनाले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रवार एक नयाँ परोपकारी कार्यक्रम “लास १० डेल १०” को सुरुवात गर्नुभएको छ । कार्यक्रमले अर्जेन्टिनाका गरीब समुदायलाई खाद्यान्न, तथा स्वास्थ्य सामग्रीलगायतका सामान प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार १८:५९