जनतालाई सुखी बनाउने संकल्प जनताको खाद्य सुरक्षासँग जोडिएको छः प्रधानमन्त्री ओली
३० असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको संकल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको बताउनुभएको छ । शुक्रबार ४०औं विश्व खाद्य दिवसकाे अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले १० बर्षमा कृषि उत्पादकत्व दोब्बर गर्न, कृषिको आधुनिकीकरण र व्यावसायीकरणको योजना सहित कृषि पूर्वाधारमा ठूलो लगानीका साथ नेपाल सरकार क्रियाशील रहेको बताउनुभएको छ । उहाँले बाली लगाउनुपूर्व नै प्रमुख खाद्यान्न बालीहरुको न्यूनतम समर्थन मूल्य तोकी यसको बजारीकरण र कृषकको वचतलाई सुनिश्चित गर्ने नीति सरकारले अंगिकार गरिएको बताउनुभयो ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ४०औं विश्व खाद्य दिवसकाे अवसरमा दिनुभएको शुभकामना सन्देश
आज ४० औं विश्व खाद्य दिवस, यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नागरिकहरुको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्ने अभियानलाई सार्थक बनाउन यस दिवसका अवसरमा सबैमा हार्दिक आह्वान गर्दछु ।
नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो । त्यसका लागि हामीले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा संवैधानिक ब्यवस्था गरेका छौं । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन, २०७५ समेत जारी गरी हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानूनी अधिकारको रुपमा स्थापित गरिएको छ ।
हामीले यसलाई कानुनी अधिकारको परिभाषिकरणमा मात्र सीमित गर्ने परम्परालाई तोडेर नेपालमा गरिवीको कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने ब्यावहारिक अभ्यास अघि बढाइरहेका छौं । राज्यले लोक कल्याणकारी दायित्व निर्वाह गर्ने यस्ता प्रयास अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व हो । जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सहयोगात्मक अभियान अघि बढ्नु पर्दछ भन्ने म ठान्दछु ।
हाम्रो दीगो विकास लक्ष्यमा ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने तथा दीगो कृषि प्रणालीको प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको छ । यसबाट निर्देशित रही कृषि विकास रणनीति, शून्य भोकमरी चुनौती एवं बहुक्षेत्रीय पोषण योजना दोस्रो लगायत क्षेत्रगत नीति र योजनाले खाद्य तथा पोषण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र कार्यनीतिको प्रभावकारी कार्यान्वयन हुँदै आएको छ ।
चालु १५ औं योजनाले खाद्य असुरक्षा तथा पोषणको जोखिममा रहेका क्षेत्र र समुहको आधारभूत खाद्य उपलब्धताको सुनिश्चितता, कृषि तथा गैर कृषिजन्य उद्यम मार्फत् आयआर्जनमा सुधार गरी खाद्य पहुँचमा वृद्धि र खाद्यवस्तुको स्वच्छता अभिवृद्धि मार्फत् खाद्य सम्प्रभुता, दीगो खाद्य तथा पोषण सुरक्षा सहितको समाज निर्माण गर्ने सोच लिएको छ ।
मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको संकल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको छ । यस अनुरुप १० बर्षमा कृषि उत्पादकत्व दोब्बर गर्न, कृषिको आधुनिकीकरण र व्यावसायीकरणको योजना सहित कृषि पूर्वाधारमा ठूलो लगानीका साथ नेपाल सरकार क्रियाशील रहेको छ । बाली लगाउनुपूर्व नै प्रमुख खाद्यान्न बालीहरुको न्यूनतम समर्थन मूल्य तोकी यसको बजारीकरण र कृषकको वचतलाई सुनिश्चित गर्ने नीति अंगिकार गरिएको छ ।
आज हामी ‘हाम्रो पहलः दीगो कृषि, पोषिलो आहार’ भन्ने नेपाली नाराका साथ ४० औं विश्व खाद्य दिवस मनाउन गइरहेका छौँ । यस नाराले खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताका लागि कृषि, जैविक विविधताको संरक्षण, सम्बद्र्धन तथा उपयोग गर्दै उत्पादनको विविधिकरण गर्नुपर्ने, प्राकृतिक स्रोत साधनको संरक्षण तथा त्यसको न्यायसंगत प्रयोग गर्नुपर्ने, खाद्य शृङ्खलामा भएका नोक्सानी कम गर्नु पर्ने, सुरक्षित तथा पोषिलो खानाको उपयोगमा वृद्धि गर्नु पर्ने तथा कोभिड १९ महामारीको समयमा समेत खाद्य उत्पादन तथा आपूर्तिमा संलग्न समग्र आपूर्ति शृङ्खलाका कर्मशील किसान, श्रमिक तथा उद्यमीहरुप्रति सम्मान तथा संरक्षण, जीविकोपार्जनमा सुधार गर्नु पर्ने विषयलाई उजागर गरेको छ ।
हाम्रो संविधानले कृषि तथा खाद्य सुरक्षा सम्वन्धी विषय संघ, प्रदेश सरकार र स्थानीय तहको अधिकार सूचीमा राखेको छ । तसर्थ दीगो कृषि विकास तथा पोषिलो आहारको सुनिश्चतता कायम गर्न तीनै तहका सरकारहरुको तालवद्ध र समन्वयात्मक प्रयास अपरिहार्य छ । यस सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि प्रदेश सरकारहरु र स्थानीय तहहरुलाई हातेमालो गरी अघि बढ्न आह्वान गर्दछु ।
यतिबेला हामी कोभिड १९ को विश्वब्यापी महामारीका कारण जनताको स्वास्थ्य तथा राष्ट्रको सामाजिक तथा आर्थिक जीवनमा विषम परिस्थितिको सामना गरिरहेका छौँ । हामी मात्र होइन सम्पूर्ण विश्व कोभिड १९ महामारीबाट आक्रान्त छ । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको मुलुक तथा यहाँका सिमान्तकृत किसान समुदायमा यसले झन् ठूलो नकारात्मक प्रभाव पारेको छ । यस महामारीका नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्वद्ध निकायलाई म आह्वान गर्दछु ।
अनत्यमा, कृषि क्षेत्रको उत्पादकत्व वृद्धि तथा दीगो विकासको लक्ष्य प्राप्त गर्न ४० औं विश्व खाद्य दिवसका अवसरमा सम्पूर्ण दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


प्रकाशित मिति : 10:40









