२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

आईपीएलमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले हरायो

२३ असोज, काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको गएरातिको खेलमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले हराएको छ । यूएईकाे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको हो । हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११/११ रन जोडे । हैदराबादका राशिद खानले ३ विकेट लिए । यस्तै खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार ०८:०४